एमालेको वडा अधिवेशन आज, ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।

एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।



आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ । चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ ।

यता १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण कार्यदलका संयोजक डा भीमबहादुर रावलले १० बुँदे प्रस्तावको पूर्ण कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै संयोजक पदबाट आफूले राजीनामाको घोषणा गरेका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले आफूले उक्त प्रस्ताव कार्यान्वयनका लागि सुझावसहितको प्रतिवेदन दिएकामा अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको भावनाविपरीत धारणा राखेकाले लिखित राजीनामा दिने जनाए ।

सम्बन्धित समाचार