नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ कात्तिक ।

प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण जानेने भएका छन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत जानन लागेका हुन् ।
नेपाली दूतावास लण्डनका अनुसार ५ दिने बेलायत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले बेलायतस्थित मन्त्री तथा सरकारी अधिकारीसँग उच्चस्तरीय भेटघाट गर्ने भएका छन् । लण्डनस्थित नेपाली दुतावासकी प्रवक्ता रोशन खनालका अनुसार प्रधानमन्त्री देउवा यही अक्टोबर २९ तारिख, शुक्रबार साँझ लण्डन उत्रिने तयारीमा छन् । देउवाले अक्टोबर ३० तारिख बेलायती मन्त्री र उच्चअधिकारीसँग भेटघाट गर्ने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।
प्रधानमन्त्री देउवासँगको भेटघाटका लागि बेलायती मन्त्री र केही सरकारी अधिकारीहरूलाई आग्रह गरिएको छ । तर अहिलेसम्म बेलायत सरकारको तर्फबाट जवाफ नआएको खनालले बताइन्।
भ्रमणकै क्रममा देउवाको सम्मानमा अल पार्टी पार्लामेन्ट्री ग्रुपले बेलायती संसद् भवनमा स्वागत तथा सम्मानको कार्यक्रम गर्नेको तयारी गरेको छ। नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार प्रधानमन्त्री देउवाले यहाँस्थित नेपाली कांग्रेसका कार्यकर्ता, भूतपूर्व गोर्खा, गैरआवासीय नेपालीसँग छुट्टै अन्तरक्रियासमेत गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवा ३१ तारिख आइतबार साँझ लण्डनबाट समिट आयोजना हुने ग्लास्गो सहर प्रस्थान गर्ने भ्रमण तालिका तय भएको छ । प्रधानमन्त्री देउवा, वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवसहित २० जनाको टोली सो समिटमा भाग लिन नोभेम्वर १ र २ तारिख ग्लास्कोमा रहने छ ।

