नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ कार्तिक ।
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया र इंग्ल्यान्डले विजय सुरुवात गरेका छन् । शनिबार भएको पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भयो भने दोस्रो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ६ विकेटले पराजित हुन पुग्यो ।
आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन मार्क्रमले ४० रन बनाए भने कागिसो राबडा १९ रनमा अविजित रहे । त्यस्तै डेभिड मिलर १६ रन बनाई आउट भए भने हेन्रिच क्लासेनले १३ रन जोडे । अष्ट्रेलियाका लागि मिचेल स्टार्क, जोश हाजलउड र एडम जाम्पाले समान २-२ विकेट लिए ।
११९ रनको लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेट गुमाउदै पूरा गर्यो । अष्ट्रेलियाको लागि स्टिभ स्मिथले ३५ रन बनाए भने मार्कुस स्टोनिस २४ र म्याथ्यु वेड १५ रनमा अविजित रहे । त्यस्तै ग्लेन म्याक्सवेलले १८ रन जोड्दा डेभिड वार्नरले १४ त रन बनाए । दक्षिण अफ्रिकाका लागि एन्रिच नोर्कियाले २ विकेट लिए भने कागिसो राबडा, केशव महाराज र ताब्रेज साम्सीको भागमा समान १-१ विकेट रह्यो । जितसँगै अष्ट्रेलिया २ अंक जोड्दै सुपर १२ को समूह १ को दोस्रो स्थानमा रहेको छ।
त्यस्तै शनिबार भएको दोस्रो खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको छ । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज २० ओभरमा ५५ रमा समेटिएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोस्रो अंक छुन सकेनन् । इंग्ल्यान्डका लागि आदील राशिदले ४ विकेट लिए भने मोइन अली र टेमल मिल्सले समान २-२ विकेट लिंदा क्रिस वोक्स र क्रिस जोर्डनको भागमा समान १-१ विकेट रह्यो ।
५६ रनको झिनो लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाउदै पूरा गर्यो । इंग्ल्यान्डको लागि जोस बट्लर २४ र कप्तान इयान मोर्गन ७ रनमा अविजित रहे भने जासन रोय ११ रनमा आउट हुँदा जोनी बेयर्सटोले ९ रन बनाए । वेस्ट इन्डिजका लागि अकिल होसेनले २ विकेट लिए भने रभी रामपालको भागमा १ विकेट रह्यो । जितसँगै सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले २ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा बंगलादेश र श्रीलंका भिड्दै छन् भने दोस्रो खेलमा भारत र पाकिस्तान आमने सामने हुँदैछन् ।