नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ कार्तिक ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको दैनिक पेशी गोलाप्रथाका आधारमा तोक्न सहमत भएका छन् । आज (आइतबार) सर्वोच्चमा बसेको प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीचको छलफलमा जबराले मंगलबारबाट दैनिक पेशी गोलाप्रथाका आधारमा तोक्न सहमत भएका हुन् ।
स्वचालित पेशी प्रणाली लागुका साथै अहिले न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायपालिकाको सुधारको लागि न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक लगायत विषयमाछलफल गर्न आइतबार बारका प्रतिनिधिहरुले प्रधानन्यायाधीश जबरासँग भेट गरेका हुन् ।
त्यस्तै न्यायालयको सुधारका लागि आफू प्रतिवद्ध रहेको जबराले बताए । प्रधानन्यायाधीशले सोमबार नै फूलकोर्ट बोलाउन तयार रहेको पनि बताए। सोमबार फुलकोर्टको बैठक बसेपछि मंगलबारदेखि नमुना गोलाप्रथा सुरू गर्ने र त्यसपछि गोला तानेर पेशी तोक्ने सहमति जुटेको बारका प्रतिनिधिले जानकारी दिए ।
गत शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन बारले जबरालाई १५ दिने अल्टिमेटम दिएको थियो ।

