कांग्रेस अधिवेशन मंसिरमा पनि नहुने निश्चित, शीर्ष नेताहरूको स्वार्थले पार्टी वैधानिकता धरापमा

यसरी भैरहेछ देउवा र कोइरालालाई मिलाउने प्रपञ्च

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन एक महिना मात्र बाँकी छ । तर यस अवधिमा हुनुपर्ने जिल्ला तथा नगरअधिवेशन सम्पन्न हुन सकेका छैनन् । यसमा शीर्ष नेतृत्व नै तैं चुप मैं चुपको अवस्थामा छन् । यसले कांग्रेसको अधिवेशन तोकिएको मितिमा गर्न नेतृत्व पङ्तिले नै नचाहेको प्रष्ट हुन्छ । नेतृत्वको यो रबैयाले कार्यकर्ताहरू भने अलमलमा परेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा अधिवेशन सम्पन्न गर्ने जिम्मा निर्वाचन समितिको भएको भन्दै पन्छिने गरेका छन् । वास्तवमा उनी आफूले जित्ने सुनिश्चित नभएसम्म महाधिवेशन गर्ने मनासायमा देखिँदैनन् । आफ्नै खेमामा रहेका नेता विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वार घोषणा गरिसकेको अवस्थामा देउवाले आफूलाई असुरक्षित महसुस गरिरहेका छन् । आफू इतरका समूहबाट सभापतिमा कति जना उम्मेद्वार बन्छन् भन्ने निश्चित नहुँदा पनि देउवालाई सकस परेको छ ।



पौडेल पक्षबाट सभापतिमा एकल उम्मेद्वार आएमा देउवालाई सभापतिमा दोहोरिन असम्भव देखिन्छ । किनकि निधिले देउवाको भोट काट्दा पौडेल समूहमा माहौल बन्ने देखिन्छ । तर पौडेल पक्षमा पनि एकल उम्मेद्वारमा सहमति जुट्ने सम्भावना देखिँदैन । यो पक्षबाट स्वयं रामचन्द्र पौडेलदेखि प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र सुजता कोइरालासम्मले सभापतिमा उठ्ने चाहना व्यक्त गरिरहेका छन् । एकले अर्कोको अस्तित्व स्वीकार गर्न नसक्ने यी नेताले महाधिवेशनमा एकल सभापतिको उम्मेद्वार तय गर्लान् भन्नेमा स्वयं देउवा पनि विश्वस्त छैनन् । त्यसैले पनि कोइराला खेमामा खेल्ने रणनीतिमा देउवा देखिन्छन् ।

कतिपयले त हाल शशांक कोइराला भारत जानुमा देउवा र उनलाई मिलाउने प्रपञ्चअनुसार योजना बनेको बताउने गरेका छन् । सुजताले यसअघि नै पौडेल पक्षमा रहेर राजनीतिक जीवन सुरक्षित गर्न नसकिने भन्दै महाधिवेशनमा उपसभापति दिएमा पनि देउवा क्याम्पमा प्रवेश गर्न सक्ने सार्वजनिक अभिव्यक्ति दिने गरेकी छिन् । पौडेल पक्षमा सहमति जुट्न नसक्दा त्यसमै खेलेर पुनः सभापतिमा दोहोरिने रणनीतिका साथ देउवा महाधिवेशन दुई चार दिन सर्दैमा केही फरक नपर्ने भन्न थालेका छन् ।

पौडेल पक्षमा सहमति नजुट्ने निश्चित भएपछि मात्र देउवा महाधिवेशन गर्न तयार हुने अवस्था छ । यस्तो अवस्थामा कृष्ण सिटौला र कोइराला खेमाका केही नेतासँग सहकार्य गरेर निधि र पौडेल पक्षलाई साइजमा राख्न सकिने देउवाको बुझाइ छ । त्यसको लागि देउवाले सिटौला समूहसँग पनि पनि चरणबद्ध छलफल गरिरहेको बताइन्छ । सिटौला समूहले आफूहरूलाई महामन्त्रीसहित केही आकर्षक पद लिएर देउवालाई समर्थन गर्ने सम्भावना छ । उता शशांकलाई भने निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन देउवाले दिएको बताइन्छ ।

पौडेल पक्ष भने सभापतिको उम्मेद्वार तय गर्न नसकेको कारणले नै पार्टी सभापतिलाई महाधिवेशन तोकिएकै मितिमा गर्न दवाव दिन सकेको छैन । उनीहरू आफूमा सहमति नजुटी महाधिवेशनमा जाँदा देउवाले नै बाजी मार्छन् भन्नेमा निश्चित छन् । त्यसैले पनि सतही रूपमा तोकिएकै मितिमा महाधिवेशन हुनुपर्छ भन्ने बाहेक सहमति जुटाउन र सभापतिलाई दवाव दिने काम गर्न पौडेल पक्ष अग्रसर देखिँदैन ।

शीर्ष नेतृत्वमा व्याक्तिवादी स्वार्थ हाबी हुँदा कांग्रेसको पार्टी वैधानिकता भने धरापमा परेको छ । संविधानको सोझो व्याख्या गर्ने हो भने कांग्रेसले गत भदौमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने हो । तर वडा अधिवेशन सुचारू गरेर महाधिवेशन जारी रहेको भन्दै संविधानको अपव्याख्या गरेर कांग्रेसले महाधिवेशनलाई टारिरहेको छ । यसले देशकै ठूलो लोकतान्त्रिक दल मानिएको कांग्रेसको छविमा पक्कै पनि ह्रास आउने निश्चित छ ।।

सम्बन्धित समाचार