अफगानिस्तानको विजयी सुरुवात

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अफगानिस्तानले विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा स्कटल्याण्ड अफगानिस्तानसँग १३० रनको भारी अन्तरले पराजित हुन पुग्यो ।

सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १९० रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्लाह जाड्रनले ५९ रनको अर्धशतकीय पारी खेले भने रहमानउल्लाह गुर्बाजले ४६ रन बनाए । त्यस्तै हज्रातउल्लाह जाजई ४४ रन बनाई आउट भए भने मोहमद शाहजादले २२ रन जोड्दा कप्तान मोहमद नाबी ११ रनमा अविजित रहे । स्कटल्याण्डका लागि साफ्यन शारिफले २ विकेट लिए भने जोस डेभि र मार्क वाटको भागमा समान १-१ विकेट रह्यो ।



अफगानिस्तानको विजयी सुरुवात

१९१ रनको लक्ष्य लिएर मैदान उत्रेको स्कटल्याण्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले २५ रन बनाए क्रिस ग्रेभिसले १२ रन जोडे । यस्तै, कप्तान केली कोट्जरले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।अफगानिस्तानका लागि मुजिब उर रहमानले ५ विकेट लिए भने राशिद खानले ४ र नभिन उल हकको नाममा १ विकेट रह्यो ।

जितसँगै समूह २ को अफगानिस्तान १ खेलमा २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छन् । पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्टइन्डिज भिड्दै छन् भने दोस्रो खेलमा न्युजिल्याण्ड र पाकिस्तान आमने सामने हुने छन् ।

स्कटल्याण्ड

सम्बन्धित समाचार