नवकान्तिपुर संवाददाता
काठमाडौं, १० कार्तिक ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ११ इजालस तोकेका छन् । आज (बुधबार)का लागि प्रधानन्यायाधीश संवैधानिक इजलाससहितको पेसी तोकेका हुन् ।
राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजालस तोकेका हुन् । सर्वोच्चको १५ जना न्यायाधीशले प्रधानन्यायाधीश जबराले राजीनामा दिंदै न्यायालयलाई निकास दिनुपर्ने पक्षमा उभिएपछि दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । यद्यपि प्रधानन्यायाधीश जबराले राजीनामा नदिने बताएका छन् । मंगलबार प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच भएको छलफलमा उनले यस्तो बताएका हुन् ।
प्रधानन्यायाधीश जबराले सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका थिए । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् । त्यस्तै जबराले भने ‘तपाईंहरुमाथि पनि प्रश्न उठेका छन्, के तपाईंहरु राजीनामा दिनसक्नुहुन्छ ?’
१५ जना न्यायाधीशहरुले आज पनि छलफल गर्दै छन् । अन्य न्यायाधीशहरु इजलासमा नबसेपनि आफू एक्लै बस्न मिल्ने गरी प्रधानन्यायाधीश जबराले ५ वटा मुद्दा राखेर पेसी तोकेका छन् । न्यायाधीशहरु छलफलमा व्यस्त हुने भएकाले आज प्रधानन्यायाधीश जबराले तोकेको इजलासमा बस्ने सम्भावना निकै कम छ ।

