विवेकशील साझाको पाण्डे समूह एकीकृत समाजवादीमा प्रवेश गर्ने !

विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेको छ । बुधबार विवेकशील साझाका संयोजक पाण्डेको टोलीलाई अध्यक्ष नेपाललाई भेट्न उनकै निवासमा पुगेका थिए ।

एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेका थिए । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि संयोजक पाण्डेको समूह विकल्पको खोजीमा छ ।



यसअघि जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरेका पाण्डे समूह पछिल्लो समय माधव नेपालसँग नजिकिएको छ । नेकपा एमालेमा विद्रोह गरी भदौमा एकीकृत समाजवादी पार्टी स्थापना गरेका नेपालले पाण्डे समूहलाई भित्र्याउन छलफल अगाडि बढाएको बुझिएको छ ।

आजको भेटमा पनि वर्तमान राजनीतिक समस्या र आगामी सहयात्राका विषयमा कुराकानी भएको विवेकशील साझाका नेता केशव दाहालले स्वीकारे । यतिबेला विवेकशील साझामा आत्मसमर्पण कि विद्रोह भन्ने ठाउँमा पुग्नैपर्ने अवस्था आएको उनको भनाइ छ ।

सम्बन्धित समाचार