नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ कार्तिक।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बिहीबार) नवनियुक्त मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बागमती प्रदेश सभामा आयोजित कायक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।
पाण्डे नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट कृष्ण भडेल, नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा (एकीकृत समाजवादी) का कृष्ण खनालले पनि मन्त्रीको रुपमा शपथ लिएका छन् । जसमा मोक्तानलाई सामाजिक विकास, खनाललाई आर्थिक मामिला तथा योजना र भँडेललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बागमती प्रदेशमा सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । मुख्यमन्त्री पाण्डेलाई ५९ सांसदको समर्थन प्राप्त भएको छ ।

