मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले बेमौसमी बाढी पहिरो पीडितलाई राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले धानबालीमा पुगेको क्षतिको मूल्यांकन गरेर राहत वितरण गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले बढीमा १० कठ्ठासम्म क्षति पुगेका साना किसानहरुलाई क्षतिको अधिकतम ६५ प्रतिशत, मध्यम अर्थात् ३ विघासम्म क्षति पुगेका किसानहरुलाई क्षतिको २० प्रतिशत र ३ विघाभन्दा माथि क्षति भएका किसानहरुलाई २० प्रतिशत क्षतिपूर्ति दिने निर्णय गरेको छ ।



जसका लागि न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको लागत बराबरको रकमलाई कायम गरिएको छ । राहत उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाएर ५ दिनभित्र कार्यविधि बनाएर त्यसको स्वीकृतिका लागि पेस गर्नुपर्ने भएको छ ।

यस्तै बैठकले महालेखा परीक्षणको कार्यालयमा रिक्त रहेको महालेखा परिक्षक राजपत्रांकित विशिष्ट श्रेणी पदसंख्या २ मा महेश्वर काफ्ले र वामदेव अधिकारीलाइ बढुवा गर्ने निर्णय गरेको छ । बैठकले भारतका लागि नेपाली राजदूतमा डा शंकर शर्मा, वेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिका लागि प्राध्यापक श्रीधर खत्रीलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्विकृती दिने निर्णय गरेको छ । नेपाली सेनाको उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । आजैको बैठकले संसद्को जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार