नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कार्तिक ।
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया विजयी भएको छ । बिहीबार राति भएको खेलमा श्रीलंका अष्ट्रेलियासँग ७ विकेटले पराजित हुन पुग्यो ।
अष्ट्रेलियाको यो लगातर दोस्रो जित हो भने श्रीलंकाको सुपर १२ मा पहिलो हार । दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १५४ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल परेरा र चारिथ असलंकाले समान ३५-३५ रन बनाए । त्यस्तै भानुका राजपाक्षे ३३ रनमा अविजित रहँदा डसुन शनकाले १२ रन जोडे । अष्ट्रेलियाका लागि मिचेल मार्श,पाट कमिन्स र एडम जाम्पाले समान २-२ विकेट लिए ।
१५५ रनको लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । अष्ट्रेलियाको लागि डेभिड वार्नरले ६५ रनको अर्धशतकीय पारी खेले भने कप्तान आरोन फिन्चले ३७ रन बनाए । यस्तै स्टिभ स्मिथ २८ र मार्कुस स्टोनिस १६ रनमा अविजित रहे । श्रीलंकाका लागि वानिन्दु हसरंगा डी सिल्भाले २ विकेट लिए भने डसुन शनकाको भागमा १ विकेट रह्यो ।
जितसँगै अष्ट्रेलिया २ खेलमा ४ अंक जोड्दै समूह १ को दोस्रो स्थानमा उक्लिएको छ भने र खेलमा २ अंक जोडेको श्रीलंका चौथों स्थानमा रहेको छ । पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले हराएको थियो भने बंगलादेश श्रीलंकासँग ५ विकेटले नै पराजित भएको थियो ।
प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा बंगलादेश र वेस्ट इन्डिज भिड्दै छन् भने दोस्रो खेलमा अफगानिस्तान र पाकिस्तान आमने सम्माने हुँदै छन् ।