नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ कार्तिक।
एएफसी यू -२३ एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ताजिकिस्तानले नेपाललाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
लगातार दोस्रो हारसँगै नेपाल छनोटको समूह चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा नेपाल इरानसँग ४-० ले पराजित भएको थियो । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलको पहिलो हाफमा ताजिकिस्तानले ३ तथा दोस्रो हाफमा ३ गोल गरेको थियो । पहिलो हाफको २४ औं मिनेटमा शेर्भोनीले गोल गर्दै घरेलु टोली ताजिकिस्तानलाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ३३ औं मिनेटमा शारफजोन सोलेहोभले गोल गर्दा घरेलु टोलीको अग्रता दोब्बर बनाए । यस्तै खेलको ४१ औं मिनेटमा रुस्तम सोइरोभको गोल मार्फत पहिलो हाफमा घरेलु टोली ३-० ले अघि रह्यो । त्यसैगरी दोस्रो हाफको ६३ औं मिनेटमा मुहम्मादली अजिजबोएभले गोल गर्दै ताजिकिस्तानलाई ४-० अग्रता दिलाए । खेलको ६८ औं मिनेटमा अजिजबोएभ भादत हानोनोभले पेनाल्टीमा गोल गरेपछि घरेलु टिम ५-० ले अघि रह्यो ।
त्यसपछि खेलको ७२ औं मिनेटमा घरेलु टोलीको लागि इमोमाली अखामादखोनले गोल गर्दै ताजिकिस्तानलाई ६-० को शानदार जित दिलाए । जितसँगै ताजिकिस्तान २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने अंक विहिन नेपाल तालिकाको पुछारमा रहेको छ । पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानले लेबनानलाई पराजित गरेको थियो । अब नेपालले तेस्रो तथा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ ।
११ समुहमा रहेको छनोटका शीर्ष टोली सहित दोस्रो स्थानमा रहेका उत्कृष्ट चार टोलीले एएफसी यू –२३ एसियन कप खेल्नेछन् । फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा आयोजना हुँदैछ।