कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाँणलाई

प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् । प्रधानमन्त्री देउवा आज(शुक्रबार) बेलायत गएपछि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् ।

देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री पद नरहेपछि दोस्रो वारियात्को आधारमा खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको हो । बेलायत भ्रमणमा जाने भएपछि हिजो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष देउवाले खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र पठाएका थिए ।



राष्ट्रपति कार्यालयले खाँणलाई प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आज (शुक्रबार) ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेकाे हो ।

नेपाली प्रतिनिधिमण्डल नोभेम्बर ३ मा यूकेबाट फर्कनेछ भने नोभम्बर ४ मा नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित समाचार