नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ कात्तिक ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफमात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन्।सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेन भन्दा पनि वर्तमान सरकारले के गर्दै छ भन्ने कुरा महत्त्वपूर्ण हुने बताए।
ओली सरकारले साढे तीन वर्ष गफमा बिताएको बताएका कार्कीले कांग्रेसको सरकार मुलुकको समृद्धि र विकासमा केन्द्रित रहेको दाबी गरे। शनिबार सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्रमा बनेको गठबन्धनको सहमतिबमोजिम वर्तमान सरकार अघि बढेको बताए।
यसैबीच मन्त्री कार्कीले प्रदेश १ का प्रदेश सांसदहरुलाई पार्टी निर्णयविपरीत नजान निर्देशन दिएका छन्। मन्त्री कार्कीले प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई पार्टी निर्णयको अक्षरस पालना गर्न निर्देशन दिएका हुन्। मन्त्री कार्कीले प्रदेश १ सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केही कांग्रेस नेता तथा कार्यकर्ता ट्रयाकबाहिर जान खोजेको बुझिन आएको भन्दै त्यसो गरिए पार्टी हितविपरीत ठहरिने बताएका छन्।

