नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कात्तिक ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध गर्दैछ। बारले आजबाट सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रम गर्न लागेको हो। बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध गर्ने कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गरेको छ।
‘मिति २०७८ कार्तिक १४,१५, १६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकाकामा रहेका बार एकाईका कानून व्यवसायीज्यूहरु लगायत सम्पूर्ण कानून व्यवसायीज्यहरुलाई अनुरोध गर्ने,’ शुक्रवार बारले गरेको निर्णयमा उल्लेख छ।
बारको बैठकले तिहारअघिको चार दिने आन्दोलन घोषणा गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिए। ‘हामीले तिहारअघिका आन्दोलन घोषणा गरेका छौं। यो चरणबद्ध आन्दोलन हो। तिहारअघिका ४ दिन हामीले आन्दोलन गर्ने निर्णय गरेका छौं,’ बारका महासचिव पौडेलले भने।
त्यसैगरी प्रधानन्यायाधीशलाई इजलासमा नबस्न अनुरोध गर्नेसमेत बारले जनाएको छ। प्रधानन्यायाधीशको राजीनामा नआए तिहारपछि विरोधका थप कार्यक्रम ल्याउने बारको तयारी छ ।

