नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ कात्तिक ।

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। समाजवादी इन्जिनियरिङ एशोसिएशनको प्रथम राष्ट्रिय भेलामा आइतबार सम्बोधन गर्दै बोल्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचार बढेकोप्रति चिन्ता व्यक्त गरेका हुन्।
उनले अहिले देशमा सबैतिर भ्रष्टाचारले सीमा नाघेको बताए। अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा भ्रष्टाचारले सीमा नाघेको बताएका हुन्। उनले ओलीको पालामा भएको भ्रष्टाचारको छानबिन गरिनेसमेत बताएका छन्।
उनले देशलाई आफ्नो पार्टीले नयाँ दिशामा लैजाने बताउँदै देश किन बनेन भनेर सबैले सोच्न आग्रह गरे। उनले बालुवाटारमा हेलिप्याड बनाएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सरकारले जनताको पसिनाको कदर नगरेको र महत्व नबुझेको उनको आरोप छ।
अध्यक्ष नेपालले राष्ट्रपति भवनमा समेत हेलिप्याड बनाउने कुरा चलिरहेको भन्दै हेलिप्याड बनाउने कुरामा आफ्नो विरोध रहेको बताए। उनले देश बनाउन सामाजिक क्षेत्रबाट महाअभियान सुरु गर्नुपर्ने बताए।

