नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कात्तिक ।

कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री सोमबारदेखि पदमुक्त भएका छन्। पदमुक्त हुनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन्।
तीनै जनाले गत बैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए। विश्वासको मत दिएकै भोलिपल्ट बैशाख ४ गते मुख्यमन्त्री शाहीले तीन जनलाई मन्त्री नियुक्त गरेका थिए।
पार्टी हित विपरीत फ्लोरक्रस गरेको भन्दै एमालेले प्रकाश ज्वालासहित तीन जना मन्त्रीलाई सांसद पद नरहनेगरी बैशाख १३ गते कारबाही गरेको थियो। सांसद पद गुमेपछि पुनः बैशाख १५ गते उनीहरू गैर सांसदको रूपमा मन्त्री नियुक्त भएका थिए। गैर सांसद ६ महिना मात्रै मन्त्री हुन पाउने कानुनी व्यवस्था छ। यही कारण मन्त्रीहरू आजबाट स्वतः पदमुक्त भएका हुन्। पदमुक्त भएका तीन जना मन्त्रीहरू नेकपा एकीकृत समाजवादी पार्टीका नेता हुन्।
यसैबीच एकीकृत समाजवादीले पदमुक्त भएका तीन मन्त्रालय आफूले पाउनुपर्ने अडान राखेको छ। आइतबार साँझ सुर्खेतमा बसेको एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीको बैठकले तीन वटै मन्त्रालयमा समाजवादीले लिने निर्णय गरेको हो ।
यससँगै एकीकृत समाजवादीका तीन सांसद् देवी वली, पदमबहादुर रोकाया र चन्द्रबहादुर शाह मन्त्री बन्ने भएका छन् ।

