नेपालमैं पहिलोपल्ट विषादीरहित चिया उत्पादन सुरु

नेपालमैं पहिलोपल्ट झापाको हल्दिवारी गाउँपालिका– ३, कदमचोकमा विषादीरहित चिया उत्पादन सुरु भएको छ । हल्दिवारीका ५ कर्ण दाजुभाइहरूले संंयुक्त रूपमा करिब ८ करोड ५० लाखको लगानीमा कर्ण एण्ड ब्रदर्स टी इन्ड्रस्ट्रीमार्फत १०० प्रतिशत विषादीरहित चिया उत्पादन तथा प्याकेजिङ्गको कार्य सुरु गरिएको उक्त टी इन्ड्रस्ट्रीका डाइरेक्टर इन्जिनियर दिनेश कर्णले बताएका छन् ।

नेपालका चिया बगानहरूमा अत्याधिक विषादी प्रयोग भइरहेको अवस्थामा विषादीरहित चिया तथा अन्य बालीलाई विषादीरहित बनाउने अभियानमै लागेका कर्ण दाजुभाइहरूले सत्येन्द्रकुमार कर्णको अगुवाइमा चिया फ्याक्ट्री संचालनमा ल्याएका हुन् ।



विगत १० वर्षदेखी विषादीरहित हरियो चियापत्ती, अन्न बाली र तरकारी उत्पादन गर्दै आएका उनीहरूले आफ्नो २२ बिघा र अरूको करिब ५० बिघा जमिनबाट विषादीरहित हरियो चियापत्ती उत्पादन गरी प्रशोधनसमेत सुरु गरिसकेका छन् ।

झापामै विषादीरहित खाद्य बालीका विशेषज्ञको रूपमा चिनिएका सत्येद्रकुमार कर्णको चिया उत्पादनदेखि प्रशोधनसमेत विषादीरहित बनाउन शुरु गरेपछि उनको चौतर्फी प्रशंसा भएको छ ।

आफ्नो फ्याक्ट्रीबाट उत्पादन गरिएको चिया १०० प्रतिशत विषादीरहित हुने र नेपालमै यसको बजार हुने कर्णले बताए ।

सम्बन्धित समाचार