नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कार्तिक ।
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ। आइतबार राति भएको खेलमा रियल बेटिस एट्लेटिकोसँग ३-० ले पराजित हुन पुग्यो । एट्लेटिकोको लागि यान्निक कारास्को र जोआ फेलिक्सले समान १-१ गोल गरे भने बेटिसले आत्मघाती गोल गर्दै एट्लेटिकोलाई उपहार दिएको थियो ।
एकतर्फी बनेको खेलमा खेलको २६ औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ६३ औं मिनेटमा बेटिसका जर्मन पेजेल्लाले आत्मघाती गोल गरेपछि एट्लेटिकोको अग्रता दोब्बर भयो । त्यस्तै खेलको ८० औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई ३-० को सहज जित दिलाए ।
जितसँगै एट्लेटिको ११ खेलमा २२ अंक जोड्दै तालिकाको चौथों स्थानमा उक्लिएको छ भने २१ अंक जोडेको बेटिस पाँचौं स्थानमा रहेको छ ।