नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कात्तिक ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ ढले कोही अचम्ति हुन नपर्ने बताएका छन्। पाँच दलीय गठबन्धनको सरकार गन्तब्यविहीन हुँदै अल्मलिएको आरोप उनले लगाए। आफूहरुले चाहे एक सातामा सरकार ढाल्न सक्ने बताउँदै अहिले पार्टीलाई एक्लै बहुमत ल्याउन आफूहरु निर्वाचनको तयारीमा लागेको बताए।
नेकपा एमाले भरतपुर महानगरको पहिलो नगरसभालाई सम्बोधन गर्दै उनले पाँचदलको गठबन्धनलाई चुनौती दिएका हुन्। उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचनमा बोकेर धोका आएको बताए। अब त्यसबाट सतर्क रहने उनको भनाइ छ।
एमालेले एकल बहुमत ल्याएर सरकारको नेतृत्व गर्ने दाबी उनले गरे। उनले वर्तमान सरकार परमादेशाट बनेको भन्दै आफूहरु मूल ढोकाबाट सिंहदार प्रवेश गर्ने बताएका छन्। आउने निर्वाचनबाट एमाले एक्लैले बहुमत ल्याउने बताउँदै उनले जनताको अभिमतका साथ एमाले सत्तामा पुग्ने बताए।
उनले सरकारको कार्यशैलीको तीव्र आलोचना गरे। पाँच दलीय गठबन्धन भाग खानका लागि भएको आरोप लगाए। पार्टी टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादीलाई पनि उनले प्रहार गरे। कम्युनिष्ट सरकार ढालेर दक्षिणपन्थीको पक्षमा लागेको भन्दै माधव नेपालको आलोचना गरे।

