प्रधानमन्त्रीहरूले प्रधानन्यायाधीशसँग सेटिङ गरे : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार बिहान नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले राजनीतिक दलहरूसँग सेटिङ गरेर न्यायालयलाई दूषित बनाएको भन्दै छिटोभन्दा छिटो पदबाट राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई सुझाव दिएका छन्।

यस्तै‚ उनले सम्मानजनक बिदाइ चाहिएको भन्ने प्रधानन्यायाधीशले चाँडो पद छाडे सम्मान पाउने पनि सुझाव दिएका छन्। ‘प्रधानन्यायाधीशले सम्मानजनक बिदाइ माग्नुभएको छ भन्ने सुनेको छु‚’ वरिष्ठ नेता पौडेलले भने‚ ‘उहाँलाई सम्मानजनक बिदाइ चाहिएको हो भने जति सक्दो चाँडो पद छोड्यो त्यति सम्मान पाईन्छ। नत्र अरु पनि सेटिङको घटना आइरहन्छन्।’



वरिष्ठ नेता पौडेले आफ्नो स्वार्थका लागि दलहरुले प्रधानन्यायाधीशसँग ‘सेटिङ’ गरेको भन्दै आक्रोश पोखे। प्रधानमन्त्रीहरूले आयुक्त र मन्त्री दिन्छु भन्दै प्रधानन्यायाधीशसँग सेटिङ गरेको आरोप लगाए।

उनले भने‚ ‘मन्त्री दिन्छु, राजदूत दिन्छु, आयुक्त दिन्छु भन्दै यो देशका प्रधनमन्त्रीहरुले आफूले संवैधानिक ऐन फेरेको, संवैधानिक अंग ध्वस्त पारेको र संविधान मिचेको काममा प्रधानन्याधीशलाई नै साक्षी राख्ने काम गरे।’

वरिष्ठ नेता पौडेलले अर्को सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवाका कारण कांग्रेस अनिर्णयको बन्दी बनेको दाबी गरे। जबरजस्ती नेतृत्वमा बसेका भन्दै देउवाको आलोचना गरे।

सम्बन्धित समाचार