नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ कात्तिक ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले एकीकृत समाजवादीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका हुन्।
चितवनमा हुने पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई मात्र बोलाउने बताउँदै अवैध सम्बन्ध र गर्भाधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाइरहनु नपर्ने बताए। उनले एकीकृत समाजवादी पार्टीलाई पहिचान र ठेगाना नभएको टिप्पणी गरे।
‘नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई निमन्त्रण दिने कुरामा एकीकृत समाजवादीको पनि पत्रकार साथीले नाम लिनुभयो, प्रमुख राजनीतिक दलहरुलाई हामीले निमन्त्रणा गर्ने हो, कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन, अवैध सम्बन्ध, अवैध गर्भाधारणबाट बनेका पार्टीहरू छन्, त्यस्ता पार्टीहरूलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन, पहिचन र ठेगाना स्पष्ट भएका प्रमुख राजनीतिक दलहरूलाई यो महाधिवेशनमा आमन्त्रण गरिनेछ,’ उनले भने।
प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगमाथि हस्तक्षेप भएको बताए। उनले गठबन्धन सरकारले संवैधानिक अंगमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताउँदै शक्तिहरूको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोपसमेत लगाए।

