राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल संवत् ११४२’ ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

‘नेपाल संवत् ११४२’ प्रारम्भ भएका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले संवत्लाई प्रचलनमा ल्याएको उल्लेख गरेकी छिन् ।



‘साख्वाले कृषिलाई प्राथमिकता दिएको कुरा स्पष्ट हुन्छ । राष्ट्रिय विभूति साख्वाको लोककल्याण एवं परोपकारी कार्यको स्मरण गर्दै निस्वार्थ भावले समाजको हित, उन्नति र प्रगतिका लागि क्रियाशील रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु’, सन्देशमा भनिएको छ, ‘आदिकालदेखि नै नेपाली समाज सभ्य र सहिष्णु रहिआएको छ । हाम्रा चाडपर्व र यस खालका असल परम्पराले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । सांस्कृतिक एवं भाषिकरूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवद्र्धन गर्ने उत्सवका रूपमा नेपाल संवत् मनाउन सबैमा आह्वान गर्दछु ।’

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्त्लाई प्रवर्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताएका छन् । नेपाल संवत ११४२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले आजको दिनले नेपाल संवत्को प्रवर्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

नेपाल संवत्का प्रवर्तक, राष्ट्रिय विभूति शङ्खधर साख्वाले प्रगतिशील सामाजिक रुपान्तरणमा पुर्याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै उपराष्ट्रपतिले साख्वाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रगतिशील सामाजिक अभियान्ता तथा नेपालका राष्ट्रिय विभूति शङ्खधर साख्वाले आफ्नो व्यक्तिगत सम्पत्तिबाट गरिब किसान जनतालाई ऋणमुक्त गरी सुरु गरेको नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् रहेको उनले स्मरण गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संबत नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका हुन् ।

नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गरे । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उहाँलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको शुभकामना सन्देशमा उल्लेख छ ।

 

सम्बन्धित समाचार