नारायणकाजी गठबन्धनसँग असन्तुष्ट, लगाए यस्तो आरोप

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ गठबन्धन र सरकारसँग असन्तुष्ट बनेका छन् । आफूले चाहेको व्याक्तिलाई राजदूत बनाउन नसकेपछि श्रेष्ठ गठबन्धन र सरकारको कामकारवाहीबारे असन्तुष्टी पोखेका हुन् । सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले गठबन्धनको बैठकमा सहभागी नगराएकोमा गुनासो गरेका छन् । अहिले पार्टीहरूको गठबन्धन शीर्षस्थ नेताहरूको गठबन्धनजस्तो बनेको उनको भनाइ छ ।

‘प्रतिगमनविरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरूमा उपस्थित भइ छलफल गर्ने अवसर प्राप्त थियो । अनिवार्य जस्तै थियो सहभागिता,’ श्रेष्ठले लेखेका छन्, ‘संघर्षको सफलतापछि पार्टीहरूको गठबन्धन शीर्षस्थ नेताहरूको गठबन्धनजस्तो बनेपछि भने एकाध बैठकहरूमा मात्र आमन्त्रण अनुसार भाग लिएको छु ।’



केपी ओलीले नियुक्ति गरेका राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयप्रति पनि उनले आफ्नो फरक मत दोहोर्‍याएका छन् । असक्षम र कार्य सम्पादन राम्रो नभएका राजदूतहरूलाई मात्र फिर्ता बोलाउनुपर्ने आफूले भने पनि सबैलाई एकमुष्ट बोलाएर गलत परम्परा बसाउन खोजिएको उनको भनाइ छ ।

अब राजदूत नियुक्ति गर्दा भागबण्डाबाहेक राजनीतिक दलबाहिरबाट साझा सूची बनाउन श्रेष्ठको माग छ । श्रेष्ठले लेखेका छन्, ‘कम्तीमा पनि केही संख्या पार्टीहरूको भागबण्डाभन्दा छुट्टै साझा सूची बनाऔं । अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त ,स्वच्छ ,योग्य र प्रतिभावान व्यक्तिहरूले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अवस्था बन्छ । त्यो देश र व्यक्ति दुवैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमूर्त राम्रा कुरा गर्ने तर लागू गर्ने चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहस गरौं ।’

सम्बन्धित समाचार