नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कात्तिक ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको जारी आन्दोलनलाई राजीनामा नआएसम्म अझ कडा पार्ने भएको छ । हिजो देशभरका बार इकाइका पदाधिकारीहरूसँगको भर्चुअल छलफलपछि बारले भोलिदेखि सर्वोच्च अदालत केन्द्रित विरोध कार्यक्रमलाई निरन्तरता दिने बताएको हो ।
उसले काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरेको छ । देशभरका बार इकाइका पदाधिकारीहरूसँग राय, परामर्श कार्यक्रम जारी नै रहेकोले एक दुई दिनमै थप विरोधका कार्यक्रम प्रकाशित गरिने बारले जनाएको छ ।
यता प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अबको तीन महिनापछि विदामा बस्ने र त्यसको एक महिनापछि अवकाश हुनेगरी सम्मानजनक बहिर्गमनको खाका अघि सारेको बुझिएको छ । आफूसँग कुराकानी गर्न सर्वोच्च अदालतका न्यायाधीशहरुले गठन गरेको तीन सदस्यीय कार्यदलसँग उनले अमूर्त रुपमा यस्तो प्रस्ताव गरेको सर्वोच्च स्रोतले बतायो ।
प्रधानन्यायाधीश जबराले माघको अन्तिम साता विदामा बस्ने र त्यसको एक महिनापछि फागुनको अन्तिम साता ‘उचित निकास दिने’ प्रस्ताव गरेको बताइएको छ । उनले त्यसका लागि आफूसँग राजीनामा माग्ने निर्णयबाट सहकर्मी न्यायाधीशहरु पछि हट्नुपर्ने र ‘सम्मानजनक विदाइ’ को वातावरण हुनुपर्ने माग राखेका छन् ।
नबराको पछिल्लो प्रस्तावबारे न्यायाधीशहरु र बारले थप छलफल गरेर सहमति खोज्ने भएका छन् । यता बारले भने आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

