नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कात्तिक ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १८८ को उपधारा १ एवम् प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम प्रदेश सभामा पेस गरेको विश्वासको मतको पक्षमा बहुमत पुगेकाले प्रदेश सभाको विश्वास रहेको सभामुख सानुकुमार श्रेष्ठले बताए ।
आज प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत खसेको हो । त्यस्तै उनको विपक्षमा ४३ मत खस्दा दुई मत तटस्थमा खसेको छ ।
प्रदेश सभामा एक सय नौ रहेकामा आज एक सय चार जना उपस्थित भएका थिए । प्रदेश सभामा विश्वासको मत पाउन ५५ सांसदको समर्थन चाहिने हुन्छ ।
नेकपा एकीकृत समाजवादी पार्टी वाग्मती प्रदेश संसदीय दलका नेता पाण्डे चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन थियो ।
प्रदेश सभा बैठकमा राप्रपाका दुई सांसद र एमालेका दुई सांसद अनुपस्थित थिए । राप्रपाका सांसदद्वय रिता माझी र रिना गुरुङ तथा एमालेका सांसदद्वय गणेश दुलाल र बेलिमाया घले अनुपस्थित रहे ।

