नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कार्तिक ।

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा भनिएको छ ।
विधिपूर्वक छठको व्रत सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र व्यक्तिगत दुःख कष्ट हटेर जाने जनविश्वास छ । सम्पूर्ण पृथ्वीलाई समान रूपले शक्ति, ताप र प्रकाश दिने सूर्यको पूजा र आराधना गरी कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ दिएर यो चाड मनाइन्छ । तराई तथा मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक मनाइने छठ पर्व हाल काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामा सूर्य देवता र छठी माताको पूजाअर्चना गरी मनाइन्छ ।
त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।
छठ पर्वका अवसरमा उनले शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गरेका छन् । साथै उनले यही सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्येको छठ पर्व पनि एक भएको बताउँदै यस पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ । हाम्रा संस्कृति र संस्कारमा आ–आफ्ना विशिष्ट पहिचानका विशेषता रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । कोभिड–१९ नियन्त्रणका लागि अवलम्वन गरेका नीतिहरू प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

