नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कात्तिक ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार जनताप्रति उत्तरदायी नभए अर्को सरकार आउने बताएका छन्। कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा भएको हारजितलाई सबैलाई स्वीकार गर्नुपर्ने बताएका हुन्।
उनले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको बताए। ‘निर्वाचन आयोगले कसैको कुरा मान्दैन, आफ्नो नीतिअनुसार काम गर्छ। निर्वाचनमा भएको हारजितलाई सबैलाई स्वीकार गर्नुपर्छ।’ उनले भने, ‘प्रजातन्त्रमा आवधिक निर्वाचन अनिवार्य हुन्छ। प्रजातन्त्र भनेको जनताप्रति उत्तरदायी सरकार हो। सरकार जनताप्रति उत्तरदायी भएन भने अर्को सरकार आउँछ।’
फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले नेपालको संविधानले सामान्य अवस्थामा संसद् भङ्ग गर्ने व्यवस्था नगरेको उल्लेख गर्दै यो प्रावधान मुलुकमा राजनीतिक स्थायित्वका लागि राखिएको धारणा व्यक्त गरे। नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग र समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको उनले बताए।
देउवाले काम गर्न नसके अर्को सरकार आउँछ भन्नुलाई गठबन्धनका अन्य दलहरुले अर्थपूर्ण मानेका छन् ।

