नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कात्तिक ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विक्रम पाण्डेले आफु एमालेमा प्रवेश गर्दै गरेको भन्ने समाचार निराधार भएको बताएका छन । केही दिन यता सामाजिक संजालमा राप्रपाका नेता विक्रम पाण्डे एमालेमा प्रवेश गर्दै भनेर समाचारहरु आइरहेको र उक्त समाचार गलत भएको उनले बताए ।
चितवनको क्षेत्र नम्वर तीनबाट चुनाव लड्दै आएका नेता पाण्डेले भने,’एमाले प्रवेशबारे न मलाई कसैले प्रस्ताव ल्याएको छ न म आफै कोहीसँग यसबारे कुरा गरेको छु । म एमाले प्रवेश गर्ने भनेर जसले भन्यो त्यसैलाई एक पटक गएर तपाईले सोध्नुहोस पाण्डेले कहिले भने भनेर ।’
‘कसैले भाषणमा उहाँ हामीसँग आउँदै हुनुहुन्छ भनेका भरमा कसैले समाचार सम्प्रेषण गर्छ भने त्यो उसैको कुरा हो । मैले राप्रपा वाहेक आफ्नो लागि अर्को कुनै पार्टी देखेको छैन,’ उनले थपे ।

