नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ कार्तिक ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ३१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ६५३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ६०९ पीसीआर परीक्षणमा ३०१ जना र तीन हजार ४४ एन्टिजेन परीक्षणमा १६ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४६६ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २७९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ५९ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ रहेको छ । जसमा ७ हजार १० जना होम आइसोलेसनमा छन् भने ५२५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १८८ संक्रमित आईसीयूमा र ५४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १६ हजार ६० र एन्टिजेन विधिबाट ९४ हजार ९९५ जना पुगेको छ ।