नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कात्तिक ।

सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई गेटमै रोक्न धर्ना दिने भएको छ। बार महासचिव लीलामणि पौडेलका अनुसार शुक्रबार १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश राणालाई छिर्न नदिन बारले धर्ना दिनेछ।
प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ।
बिहीबार सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गर्दा प्रहरीले वकिलहरूमाथि लाठीचार्ज गरेको थियो। प्रहरीको लाठीचार्जबाट बार महासचिव पौडेल, उपाध्यक्ष रक्षा बस्याल लगायतलाई चोटपटक लागेको थियो। उक्त घटनाको भर्त्सना गर्दै नेपाल बारले विज्ञप्ति निकालेको छ। शुक्रबार सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने निर्णय पनि बारले गरेको छ।
प्रधाननन्यायाधीश जबराले मन्त्रिपरिषदमा भागबन्डा मागेको कुरा बाहिरिएपछि न्यायिक विचलन निम्त्याएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशरूले उनको राजीनामा मागेका छन्। उनीहरूले बन्दीप्रत्यक्षीकरणका बाहेक राणाले तोकेका इजलास बहिष्कार गर्दै आएका छन्।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै दुई सातादेखि आन्दोलनमा रहेको नेपाल बारले शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दा तोकिएका इजलाससमेत बहिष्कार गर्ने भएको छ।

