सभामुख सापकोटाले केपी ओलीलाई लगाए गम्भीर आरोप

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकामा डोनाल्ड ट्रम्प र नेपालमा केपी ओलीले डेमोक्रेसी ढाल्न खोजेको आरोप लगाएका छन् । काभ्रेको धुलिखेलमा शुक्रबार आयोजित संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले अमेरिकामा सिस्टमले डेमोक्रेसी बचाएको, तर नेपालमा सिस्टम नहुँदा लड्नुपरेको बताए ।

‘ट्रम्पको पालामा अमेरिकाको डेमोक्रेसी डिलबाट ढल्न लागिसकेको थियो । तर सिस्टमले बचायो’, उनले भने, ‘तर हामीसँग सिस्टम छैन । सिस्टम बनाउने क्रममा छौं । नेपाली जनताको सन्तुलित भूमिकाले अहिलेको स्थितिमा छौं । सिस्टम बसेको भए यति हुँदैनथ्यो । सिस्टम बसाल्ने प्रयास गरिरहेका छौं ।’



सापकोटाले ओलीको नाम नलिई दुई पटकको संसद विघटनलाई लोकतान्त्रिक प्रणाली भत्काउन खोजेको प्रयासका रूपमा अर्थ्याए । यसमा उनले ट्रम्पको उदाहरण दिएका हुन् ।

उनले ५ पुसको प्रतिनिधिसभा विघटनदेखि २८ असारमा दोस्रोपटक संसद पुनर्स्थापना भएसम्मका दिन आफ्ना लागि सिक्ने विश्वविद्यालय भएको टिप्पणी समेत गरे । सभामुख सापकोटाले संसद पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण नपाएको गुनासो गरे ।

लोकतन्त्रको आत्मा संसद भएको बताउँदै सापकोटाले लोकतन्त्रलाई कसरी अभ्यास गर्ने भन्ने महत्वपुर्ण भएको बताए । सभामुख सापकोटाले कानुन निर्माण गुणस्तरीय र जनताको हितमा हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार