नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ कात्तिक ।

आफ्नो १०औं महाधिवेशनका लागि नेकपा एमालेले आज देशभर एकसाथ प्रतिनिधि छनोट गर्दै छ। संगठित सदस्यबीच निर्वाचन गरेर महाधिवेशन प्रतिनिधि छान्न लागिएको हो। अहिलेसम्म ८ लाख १० हजार संगठित सदस्य रहेको एमालेले जनाएको छ।
तीमध्येबाट आज एमालेले महाधिवेशन प्रतिनिधि छान्न लागेको हो। कतिपय जिल्लामा भने एमालेले यसअघि नै सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिसकेको छ। एमाले नेताहरूका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जना चयन गरिने व्यवस्था गरिएको छ।
सकेसम्म सर्वसम्मत र हुन नसके चुनाव गरिने एमाले नेताहरूले बताएका छन्। धेरैजसो सर्वसम्मतबाटै प्रतिनिधि छानिने उनीहरूको दाबी छ। यही कात्तिक १२ गते भएको केन्द्रीय कमिटी बैठकमा पार्टी सदस्य संख्या ७ लाख ३४ लाख पुगेको जानकारी दिएको एमालेले त्यसयता ७५ हजार थपिएको जनाएको छ।

