नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ कात्तिक ।
अब नेपालमा पनि नेपाली बजारशास्त्र संघ गठन हुने भएको छ । विगत तीन महिनादेखि यसको गठनका लागि छलफल चलिरहको भए पनि हालै निजी प्रतिष्ठानहरूको मार्केटिङ विभागमा कार्यरत व्यक्तित्वहरू र त्रिभुवन विश्वविद्यालयमा आबद्ध बजारशास्त्रीहरूबीच भएको छलफलले नेपाली बजारशास्त्र संघ अर्थात् ‘नेप्लिज मार्केटिङ एशोसियशन’ गठनको लागि ५ सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै संघ गठन हुने सुनिश्चित भएको हो । समायोजन समितिमा मार्केटिङ प्राक्टिसनर ३ जना र २ जना प्राध्यापक रहेका छन् ।
क्यानेडियन मार्केटिङ एशोसिशनका प्राडा तुल्सी धरेलको समउपस्थितिमा बनेको समायोजन समितिमा एसोशिएट प्रोफेसर डा. गोपाल थापा, असिस्टेन्ट प्रोफेसर सुशील अवाले, कान्तिपुर मिडिया ग्रुपका डीजीएम महेश स्वार, बजाज नेपालका एजीएम पुनम सिंह र डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खाली रहेका छन् ।
नेपालको उच्च शिक्षा र व्यवसायिक क्षेत्रकाबीच समन्वय कायम गरी उच्च शिक्षाको विकास गर्ने, व्यवसायिक क्षेत्रको बजारीकरण सम्बन्धित आवश्यकता परिपूर्ति गर्ने, नेपाली बजारशास्त्रीहरूको विश्वसनीयता अभिवृद्धि गर्ने आदि उद्देश्य राखी नेपाली बजारशास्त्र संघ स्थापना हुन लागेको संघ स्थापनाका लागि अगुवायी गर्ने डा. गोपाल थापाले बताए ।