नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ कात्तिक ।

नेपाली कांग्रेसको पछिल्लोपटक संशोधन गरिएको कार्यतालिकाका आधारमा नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जनाइएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आउँदो मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी निर्वाचन समितिले तय गरेको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पछिल्लोपटक संशोधित कार्यतालिकालाई अनुमोदन गर्ने जानकारी दिए ।
त्यस्तै, बैठकमा महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न तयारी समितिहरू पनि गठन गर्ने विषयमा छलफल भएको र केन्द्रीय समितिले त्यसलाई अन्तिम रूप दिने शर्माले बताए । केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका अनुमोदन गरे महाधिवेशनका विषयमा देखिएका अन्योलता अन्त्य हुने उनले उल्लेख गरे ।
यसअघि रोकिएको प्रदेशसम्मको अधिवेशन पनि तोकिएको समयमा नै हुने जनाइएको छ । क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लाको वडा अधिवेशन पनि शनिबारदेखि सुरु भएको छ । यद्यपि, सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजीनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ ।

