नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० कात्तिक ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भएका छन्। मुगुबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने शाही मंगलबार कृषि मन्त्रीमा नियुक्त भएका हुन्। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सहइञ्चार्ज शाहीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले कृषिमन्त्रीमा नियुक्त गरेका हुन्। शाहीलाई मंगलबार नै प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका छन्।
उनी समाजवादीको कर्णाली प्रदेश संसदीय दलका नेता पनि हुन्। तीन सदस्यीय समाजवादीको कर्णाली प्रदेश सभा दलले कर्णाली प्रदेश सरकारमा तीन वटा मन्त्रालयको दाबी गरेको छ। कृषि मन्त्रीमा नियुक्त शाहीलाई यसअघि मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सिफारिस गरेका थिए ।
मंगलबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेपछि समाजवादीका शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सिफारिस गरिएको थियो । कानुन मन्त्रीको सपथ खुवाउन प्रदेश प्रमुखको कार्यालयले तयारी गरिरहेका बेला शाही कृषि मन्त्री बन्ने तय भएको हो।
मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार शाही आफैंले सिफारिस भएको मन्त्रालय छोडेर कृषि रोजेका हुन्।

