नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफलमा जुटेका १३ न्यायाधीशले प्रधानन्यायाधीश राणाको राजीनामासँगै मुद्दा सुनुवाइमा जाने बताएका छन् ।
सर्वोच्चका न्यायाधीशमध्ये मंगलबारबाट चार जना न्यायाधीश नियमित मुद्दा हेर्नेगरी फर्किएपछि अरू १३ न्यायाधीशमाथि इजलासमा बस्न दबाब परेको छ । बारका पदाधिकारीहरूसँगको छलफलमा न्यायाधीशहरू फुल कोर्टबाट नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था भए इजलास फर्किने मनस्थितिमा पुगेका हुन् । शुक्रबारसम्म फुलकोर्ट बोलाउन आह्वान गर्ने र गोलाप्रथाका लागि नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रिया मिलाउने विषयमा छलफल भएको सर्वोच्च स्रोतले जानकारी दियो ।
गोलाप्रथाबाट पेसी तोकिए पनि प्रधानन्यायाधीशसँग इजलास सेयर भने नगर्ने सहमति १३ जना न्यायाधीशबीच भएको छ । गोलाप्रथाका लागि फुलकोर्ट बैठकले नियमावली संशोधन गरेपश्चात् आइतबारबाट सबै न्यायाधीश इजलास फर्केर काम गर्न सक्ने संकेत देखिएको छ । नियमावली संशोधन नभएसम्मका लागि बन्दीप्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली र मिलापत्रसम्बन्धी मुद्दाहरू हेर्नेगरी आफूहरू बेन्च फर्किन लागेको छलफलमा सहभागी एक न्यायाधीशले बताए ।

