आजदेखि जारी हुँदै ई-पासपोर्ट, के छ विशेषता ?

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको सरकारले आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले आज दिउँसो ई–पासपोर्ट वितरणको औपचारिक सुरुआत गर्ने छन् । राहदानी विभागका अनुसार विभागले केही दिन थोरै संख्यामा मात्रै ई–पासपोर्ट वितरण गर्ने छ । पूर्ण क्षमतामा ई–पासपोर्ट वितरण नहुँदासम्म एमआरपी वितरणले पनि निरन्तरता पाउने छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले सुरक्षित भनेको ई–पासपोर्ट विभिन्न देशले प्रयोगमा ल्याइसकेका छन् । नेपालले सन् २०२० डिसेम्बर २० मा फ्रान्सको आईडीईएमआईए आइडेन्टी एन्ड सेक्युरिटीसँग ई–पासपोर्ट छपाइका लागि खरिद सम्झौता गरेको थियो ।



मोबाइलको जस्तै विद्युतीय ‘चिप’को प्रयोग हुने ई–पासपोर्टमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक तथ्यांक राखिन्छ । ६४ वटा पृष्ठ हुने ई–पासपोर्टमा सम्पदा, संस्कृति, वन्यजन्तु तथा विभिन्न पर्यटकीय स्थानको तस्बिर हुने छन् । पहिलो र अन्तिम कभरको भित्री पृष्ठमा नेपालको राष्ट्रिय झण्डा हुने छ भने पहिलो पृष्ठमा सगरमाथा रहनेछ ।

सम्बन्धित समाचार