मुख्यमन्त्री राईले पाए विश्वासको मत

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आज (बुधबार) बसेको प्रदेशसभाको बैठकमा राईले विश्वासको मत प्राप्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । एमालेबाट मुख्यमन्त्री बनेका भीम आचार्य अल्पमतमा परेर राजीनामा दिएपछि पाँचदलीय गठबन्धनको समर्थनमा राई गत कार्तिक १६ गते मुख्य मंत्रिम्मा नियुक्त भएका थिए ।



आज प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री राईको पक्षमा ५० मत र विपक्षमा २९ मत खसेको थियो । मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक थियो । ९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १-१ जना प्रदेश सांसद छन्।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन् । पाँचदलीय गठबन्धनमा ५० जना सांसद रहेका छन् ।

सम्बन्धित समाचार