भारी वर्षा र बाढीपछि क्यानडामा आपतकालको घोषणा

क्यानडाको पश्चिमी प्रान्त ब्रिटिस कोलम्बियामा आपतकाल घोषणा गरिएको छ। ठूलो आँधी र वर्षाको कारण यो क्षेत्रको सडक र रेल सेवा पनि अवरुद्ध भएको छ। यहाँ फसेका हजारौं मानिसहरुको उद्धारको लागि क्यानडाको सरकारले सेना परिचालन गरेको छ।

आइतबार रातिदेखि सुरु भएको भारी वर्षा र आँधी अझै रोकिएको छैन। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रभावित मानिसलाई आवश्यक सहयोग दिइने बताएका छन्। पहिरोमा परी एक महिलाको मृत्यु भएको छ भने दुई जना मानिस हराइरहेका छन्।



अधिकारीहरुले जलवायु परिवर्तनको कारण यस किसिमको घातक मौसमी समस्या देखिने गरेको बताएका छन्। अहिले लगाइएको आपतकालमा मानिसहरुलाई बाढी आएको सडकमा निस्किन रोक लगाइएको छ। साथै आवश्यक सामग्रीहरु मानिसहरुलाई उनीहरुकै घरघरमा पुर्‍याइनेछ।

जलवायु परिवर्तनको असरको रुपमा पछिल्लो केही वर्षमा वर्षामा अत्यधिक वर्षा हुने, गर्मीयाममा पनि अत्यधिक गर्मी हुनेजस्ता समस्या देखिन थालेको छ।

सम्बन्धित समाचार