नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ मंसिर ।
सहिद स्मारक लिग ए डिभिजन २०७८ आज (शुक्रबार)देखि सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्दै छन् ।
दशरथ रंगशालामा हुने खेल साँझ चार बजेर ४५ मिनेटमा सुरु हुनेछ । नेपाली लिग इतिहासमा पहिलो फ्लड लाइट्समा हुन लागेको खेलमा दुवै टोली जित सहित आफ्नो सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रदै छन् । सहिद स्मारक लिग बी डिभिजनको विजेताका रूपमा सातदोबाटो ए डिभिजनमा उक्लेको हो ।
आजबाट सुरु हुने लिगमा ललितपुरका टिमको बाहुल्यता रहेको छ । यस लिगमा ललितपुरका , फ्रेन्ड्स र सातदोबोटो, थ्री स्टार, जावलाखेल, बीबीसी र च्यासल सहित ६ टोलीको सहभागीता रहेको छ । त्यस्तै काठमाडौंका पाँच क्लब मनाङ मर्स्याङ्दी, संकटा, एनआरटी, मछिन्द्र र हिमालयन शेर्पाले लिगमा समावेश रहेका छन् । विभागीय टिम मा पुलिस, आर्मी र एपीएफ रहेका छन् ।
लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ । नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।