सञ्चयकोषले घर बनाउन रकम सापटी दिने

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरूको सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित गर्न जग्गा खरिद गर्न सापटी प्रदान गर्न सुरू गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयको वार्षिक बजेटमा राष्ट्र सेवक कर्मचारीहरूलाई कर्मचारी सञ्चयकोष मार्फत सहुलियत कर्जा उपलब्ध गराउने सरकारी नीति तथा कोषमा संकलित रकमलाई सञ्चयकर्ताको हितमा परिचालन गर्ने उद्देश्य सहित तथा सञ्चयकर्ताहरूको माग बमोजिम सापटी दिन सुरू गरिएको कोषले जनाएको छ ।

कर्मचारी सञ्चय कोषको ६० औं वार्षिकोत्सवको उपलक्ष्यमा गत भाद्र ३१ गते अर्थमन्त्री जनार्दन शर्माबाट घोषणा गरिएको उक्त सापटी कार्यक्रमलाई कोषले कार्यविधि बनाएर प्रदान गर्न सुरू गरेको हो । कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताहरूले जग्गा खरिद गर्न यो सापटी लिन सक्नेछन् ।



कोषले २०७८ कार्तिक मसान्तसम्ममा सञ्चयकर्ताको आवास निर्माणका लागि २० हजार ३११ जनालाई ३७ अर्व ७८ करोड, शैक्षिक सापटी तर्फ ६६१ जनालाई ५९ करोड, घर मर्मत सापटी तर्फ १७७९ जनालाई १ अर्व ८७ करोड र सरलचक्र कर्जा तर्फ ३३८५ जनालाई ४ अर्व ९२ करोड गरी धितोमा आधारित कर्जा ४५ अर्व १७ करोड लगानी रहेको छ ।

कोभिड १९ को कारण लकडाउनको अवधिमा कर्जा प्रवाहमा केही कमी आएको भएता पनि देशको आर्थिक गतिविधिहरूमा सहज वातावरण निर्माण भएसँगै धितो आधारित कर्जा २०७८ श्रावणदेखि यता ४ महिनाको अवधिमा ९१३ जना सञ्चयकर्तालाई ३ अर्व २७ करोड कर्जा प्रवाह भएको पनि कोषले जनाएको छ ।

सम्बन्धित समाचार