नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड वार्टफोर्डसँग पराजित भएको छ। भिकारेज रोड स्टेडियममा सम्पन्न खेलमा युनाइटेड घरेलु टोली वार्टफोर्डसँग ४-१ गोलअन्तरले पराजित भएको हो।
खेलको ११ औं मिनेटमा वार्टफोर्डले पेनाल्टीको अवसर पाए पनि त्यसमा चुकेको थियो। जोसुवा किंगको गोलमा खेलको २८ औं मिनेटमा अग्रता बनाएको वार्टफोर्डका लागि दोस्रो गोल गोल ४४ औं मिनेटमा इसमइला सरले गरेका थिए। पहिलो हाफमा घरेलु टोली २-० ले अघि रह्यो।
दोस्रो हाफमा डोनी भान डी बिकले गोल गर्दै युनाइटेड लाई खेलमा फर्काउन चाहे। उनले खेलको ५० औं मिनेटमा क्रिस्टियानको रोनाल्डोको पासमा गोल गरेका थिए। तर, ६९ औं मिनेटमा ह्यारी म्यागुइर रेडकार्ड खाँदै बाहिरिए पछि युनाइटेड थप दवाबमा आयो। उता घरेलु टोलीले इन्ज्युरी समयमा दुई गोल थप्यो। जोआओ पेड्रो र इमानिओल बोनाभेन्चरले गोल गरेपछि वार्टफोर्डले खेल ४-१ ले आफ्नो पक्षमा पार्यो।
यो सँगै युनाइटेडले लिगमा १२ खेल मध्ये ५ खेलमा जित, ५ खेलमा हार र २ खेलमा बराबरी खेल्दै १७ अंक जोडेको छ। तालिकामा युनाइटेड सातौं स्थानमा रहँदा वार्टफोर्डले १२ खेलबाट १३ अंक जोडेर तालिकाको १६ औं स्थानमा छ।