नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ। संघका गण्डकी प्रदेश अध्यक्ष कमल गैह्रेको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी पार्टीका गण्डकी प्रदेश अध्यक्ष रामजी शर्मा, विशेष अतिथी संघका केन्द्रीय अध्यक्ष नरेश कुमार शाही, अतिथीहरु पार्टी केन्द्रीय सदस्य रेखा थापा बश्याल, पार्टी केन्द्रीय सदस्य प्रेम नारायण पौडेल, संघका गण्डकी प्रदेश इन्चार्ज कृष्ण विश्वकर्मा, सह इन्चार्ज ठाकुर प्रसाद शर्मा, केन्द्रीय उपाध्यक्ष पूर्ण लामा लगायत उपस्थित थिए । बैठकको संचालन संघका गण्डकी प्रदेश सचिव सन्तोष अधिकारीले गरेका थिए ।
बैठकले बिभिन्न एजेण्डाहरुमा छलफल गरेको थियो। पहिलो एजेण्डा प्रदेश कमिटीको रिक्त पदमा पदपुर्ति रहेकोमा प्रदेश कमिटीलाई ७७ सदस्यीय बनाई उपाध्यक्षमा कास्कीबाट अशोक केसी, उप सचिवमा नवलपुरबाट खड्ग सुनारी र कोषाध्यक्षमा गोरखाबाट रेखा तामाङ लोप्चनलाई चयन गरेको थियो । अध्यक्षमा तनहुँबाट कमल गैह्रे र सचिवमा कास्कीबाट सन्तोष अधिकारीले संघको केन्द्रीय कमिटी बैठकबाट ६ महिना पहिल्यै जिम्मेवारी पाइसकेका थिए ।
बैठकले कमिटीका गतिविधि संचलन गर्न नेता कार्यकर्ताहरुलाई आर्थिक दायित्व समेत तोकेको थियो। बैठकले संघको तीन महिने अभियानलाई सफल बनाउन मंसिर महिना भित्र एघारै जिल्लामा पालिका एवं वडा कमिटीहरु बनाइसक्ने निर्णय गरेको छ भने गोरखाको गोरखकाली टायर इन्डस्ट्रीज र गैंडाकोटको भृकुटी कागज कारखाना यथा शिघ्र संचालनमा ल्याउन सरकार सामु जोडदार माग गरेको छ।
बैठक दुई सत्रमा विभाजन गरि संचालन गरिएको थियो। पहिलो सत्रमा नेताहरुको सुझाब र दोश्रो सत्रमा एजेण्डामा प्रवेश गर्दै छलफल अगाडी बढाइएको थियो। बैठकमा बोल्दै प्रमुख अतिथी रामजी शर्माले युवाहरुको जोस र जांगरले मात्र परिवर्तन संभव भएको बताएका थिए ।
त्यस्तै विशेष अतिथी संघका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीले गण्डकी अप्रत्यासित रुपले युवा संघ प्रति हजारौं युवाहरु आकर्षित हुंदै गएको देख्दा आफू हर्ष बिभोर भएको र आफ्नो कार्यकालमा हरेक प्रदेशमा मजबुत संगठन निर्माण गरि बिदा हुने बचन ब्यक्त गरे ।
