नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बर्खास्त गर्न माग गर्दै नेपाल बार एसोसिएसनले आज प्रमुख राजनीतिक दलहरूलाई ध्यानाकर्षणपत्र बुझाउँदै छ। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै तीन सातादेखि आन्दोलनरत बारले संसदमा रहेका सबै दललाई यस विषयमा आज ज्ञापनपत्र बुझाउन लागेको हो।
राणालाई पदबाट हटाउन माग गर्दै बारको नेतृत्वमा कानुन व्यवसायीले लामो समयदेखि आन्दोलन गरिरहेका भए पनि प्रमखु दलहरू यस विषयमा मौन छन्। यहीबीच नेपाल बारले उनीहरूलाई आज ज्ञापनपत्र बुझाउन लागेको हो।
दलहरू अहिलेसम्म सर्वोच्चमा देखिएको विवाद न्यायालयबाटै समाधान होस् भनेर पन्छिरहेका छन्। गत कात्तिक ३० गते बसेको सत्ता गठबन्धनको बैठकले सर्वोच्च अदालतको तनाव यथाशीघ्र समाधान हुनुपर्ने बताएको थियो। तर त्यसको विकल्प दिएका छैनन्।
प्रधानन्यायाधीश जबराले वर्तमान मन्त्रिमण्डल विस्तारका क्रममा भागबन्डा खोजेको, न्याय सम्पादनमा चरम भ्रष्टाचार गरेर न्यायालयप्रति नै वितृष्णा पैदा गराएको लगायत आरोप कानुन व्यवसायीले लगाएका छन्। प्रधानन्यायाधीश राणा पदबाट नहटेसम्म आन्दोलन जारी रहने बारले बताएको छ।

