आर्मी र पुलिसले बराबरी खेल्दा मच्छिन्द्र विजयी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा मच्छिन्द्र क्लबले न्युरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको पहिले खेलमा आर्मी र पुलिसले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुबै टोलीले समान १-१ गोल गरेका थिए । पुलिसले सुरुवाती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकियो ।



आर्मी र पुलिसले बराबरी

खेलको ५१ औं मिनेटमा पुलिसका सन्तोष हेमरामले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । सन्तोषले तेज तामाङको फ्रिकिकमा हेडरमार्फत गोल गरेका थिए । तर, खेलको ६१ औं मिनेटमा आर्मीको लागि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विवेक बस्नेतले गोल गर्दै आर्मीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप समयमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल १-१ को बराबरीमा सकियो । बराबरीपछि दुबै टोलीको समान १-१ अङ्क भएको छ ।

त्यस्तै सोमबार भएको दोस्रो खेलमा सुनिल बलको दुई गोल मद्दतमा अघिल्लो सिजनको लिग साविक विजेता च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको १२ औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।

सुनिलले विशाल राईको पासमा गोल गरे । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ५४ औं मिनेटमा एनआरटीका एरिक विष्टले गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर, व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा सुनिलले खेलको ८० औं मिनेटमा गोल गर्दै मच्छिन्द्रलाई २-१ को जित दिलाए । जितसँगै मच्छिन्द्रले ३ अङ्क जोडेको छ । सोमबारको खेलसँगै सहिद स्मारक लिग ‘ए’ डिभिजन लिगको पहिलो चरण सकिएको छ। दोस्रो चरणको खेलहरु बिहीबारबाट सुरु हुनेछ।

सम्बन्धित समाचार