नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।

एमालेको महाधिवेशन आउन केवल तीन दिन मात्र बाँकी छ । नेताहरू अध्यक्ष केपी ओलीलाई प्रभावमा पारेर आ–आफ्नो पद सुरक्षित गर्न व्यस्त छन् । अध्यक्ष ओली पनि सहमतिमै नेतृत्व चुन्ने तयारीमा थिए तर गत आइतबार उपाध्यक्ष भीम रावलले एकाएक अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेपछि ओली विच्किएका छन् । उनले आफू सर्वसम्मत हुने सम्भावना टरेपछि अब सबै पदमा निर्वाचन गराउने मनस्थितिमा पुगेको बताइन्छ ।
एमालेमा अध्यक्षसहित १५ जना पदाधिकारी रहनेमा कम्तिमा ३० नेताहरूले पदाधिकारीमा दाबी गर्दै आएका थिए । अस्तित्वमा रहेका तीन गुटबाट नेताहरूले उचित जिम्मेवारीको लागि अध्यक्ष ओलीलाई दवाव दिइरहेका थिए । मध्यमार्गी १० भाइ र पूर्वमाओवादी समूहका नेताहरूले पनि उचित जिम्मेवारी नपाए विद्रोह गर्ने अभिव्यक्ति दिइरहेका थिए । त्यसमा पनि रावलले अध्यक्षमै उम्मेद्वारी दिएपछि नेताहरूको व्यवस्थापन गर्न नसकेर अप्ठ्यारोमा परेका ओली सबै पदमा निर्वाचन गराएर चिन्तामुक्त हुन चाहेको बुझ्न सकिन्छ ।
त्यसमा पनि वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा नेता चुन्न ओलीलाई फलामको चिउरा चपाएसरी भएको थियो । वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र पूर्वमाओवादी खेमाका रामबहादुर थापाले दाबी गरिरहेका थिए । एक जनालाई जिम्मेवारी दिँदा अन्य दुई नेता विच्किने निश्चित थियो । यस्तै समस्या महासचिव पदमा पनि थियो । महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरूङ, सुरेन्द्र पाण्डेलगायतका नेताहरूले दाबी गरिरहेका थिए । उनीहरूमध्ये जसलाई छाने पनि अन्य नेताहरूको व्यवस्थापन चुनौतीको विषय थियो ।
नेताहरूको व्यवस्थापन र सहमतिमा चुनौति बढ्दै जाँदा यी सव विषयमको उचित र निष्पक्ष समाधान नै निर्वाचन हुने निष्कर्षमा ओली पुगेका छन् । निर्वाचन हुँदा सबै पदमा आफूपक्षका नेताहरू नै आउने निश्चित भएपछि ओली दोधार नभई निर्वाचनको प्रस्ताव अघि बढाउने तयारीमा छन्,जसले गर्दा एमालेको १० औं महाधिवेशन थप रोचक बन्ने देखिन्छ ।
१० भाइ र पूर्व माओवादी नेताहरूको विचल्ली
एमाले महाधिवेशनमा निर्वाचन हुनेतर्फ माहौल अगाडि बढेपछि माधव नेपालसँग विद्रोह गरेर एमालेमै रहेका नेताहरू र पूर्वमाओवादी नेताहरूको विचल्ली हुने देखिएको छ । निर्वाचन नै भएको अवस्थामा उनीहरूमध्ये कोहीको पनि जित्ने आधार देखिँदैन । महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्ष हाबी भएकोले सबै पदमा संस्थापन पक्षबीच नै टक्कर हुने र उनीहरूले नै जित्ने अवस्था छ ।
फाइदाकै कुरा गर्ने हो भने अध्यक्ष ओलीलाई निर्वाचन हुँदा नै फाइदा हुने अवस्था छ । तर पनि उनले मध्यमार्गी र पूर्वमाओवादी नेताहरू विच्किएर अन्य पार्टीमा नजाउन् भन्नकै लागि सहमतिमै नेतृत्व चुन्ने प्रयास गरेका थिए । तर एकाएक नेताको लहडले गर्दा एमालेमा सहमतिको सम्भावना टरेको छ भने महाधिवेशन निर्वाचनमय हुने देखिएको छ । यद्दपि भीम रावललाई उपाध्यक्षमै व्यवस्थापन गरेर उम्मेद्वारी फिर्ता लिन लगाउने र सहमतिमा नेतृत्व चुन्न पहल गर्नतर्फ केही दोस्रो तहका नेताहरू लागिरहेका छन् । तर उनीहरूको प्रयास सार्थक हुने सम्भावना भने न्यून देखिन्छ ।।

