महाधिवेशनपछि एमाले फुट्ने निश्चित छः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनपछि एमाले फुट्ने दाबी गरेका छन् । मंगलबार धनुषाको तीनकोरिया चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले एमालेभित्र रहेका केपी ओली प्रवृत्ति र बिचौलियाहरूको प्रवेशका कारण महाधिवेशनपछि फुट्ने निश्चित रहेको बताए ।

ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको बताउँदै नेपालले भने, ‘ओलीको स्वेच्छाचारी, मनपरी र भ्रष्टाचार प्रवृत्तिका कारण एमाले बदनाम हुँदै छ । त्यसको परिणाम एमालेले अब आउने निर्वाचनहरूमा भोग्ने निश्चत छ ।’ ओलीको बोलीमा विश्वास गर्ने अवस्थामा अब नेपाली जनता नरहेको उनको भनाइ छ ।



समाजमा रहेका विकृति, विसंगति तथा भ्रष्टाचारविरुद्ध सजग र सतर्क रहन नेपालले कार्यकर्तालाई निर्देशनसमेत दिए । पार्टी प्रवेश गरेका माओवादी केन्द्रका नेता रामचन्द्र झासहितलाई स्वागत गर्दै नेपालले नेकपा एकीकृत समाजवादी पार्टीको एजेन्डा र विचारसँग जोडिन सर्वसाधारणलाई आग्रह गरे ।

सम्बन्धित समाचार