नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले आज (बिहीबार) कुवेतसँग खेल्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
नेपाल दोस्रो जितको खोजीमा हुनेछ । मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो भने सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै आफ्ना दुबै खेलमा पराजय भोगेको कुवेत भने पहिलो जितको खोजीमा मैदान उत्रदैछ । पहिलो खेलमा कुवेतले भुटानसँग ४० रनले र दोस्रो खेलमा मलेसियासँग ८१ रनले पराजित भएको थियो ।
छनोटमा ६ टिम सहभागी छन् । नेपालले चौथो खेल मलेसियासँग शुक्रबार र पाँचौ तथा अन्तिम खेल आगामी आइतबार युएईसँग खेल्नेछ ।छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।यसअघि कतारसँगको तीन खेलको सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । नेपालले टी-२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको थियो ।