नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ९ वटा इजालस तोकेका छन् । आज (बिहीबार)का लागि प्रधानन्यायाधीशले दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलास सहित २८४ मुद्दाको पेशी तोकेका हुन् ।
त्यस्तै जबराले आफ्नो इजलास भने तोकेका छैनन् । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।सर्वोच्चमा १५ मंसिरदेखि गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति भएको छ । सर्वोच्च अदालतको पूर्ण वैठकबाट गोलाप्रथाबाट पेसी तोक्नका लागि नियमावली संशोधन गरिएको थियो । तर, उक्त नियमावली हालसम्म पनि राजपत्रमा प्रकाशन नभएको कारण सर्वोच्च अदालतमा अझै पनि गोलाप्रथा सुरु हुन सकेको छैन ।
प्रधानन्यायाधीशले डा. मनोजकुमार शर्मा र तेजबहादुर केसीका लागि एकल इजलास एकल इजलास तोकेका छन् । त्यस्तै न्यायाधीशहरु दीपककुमार कार्की, हरिप्रसाद फुँयाल र नहकुल सुवेदी तथा डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानका लागि पूर्ण इजलास तोकेका छन् । यस्तै न्यायाधीशद्वय मीरा खड्का र प्रकाशकुमार ढुङ्गाना, हरिकृष्ण कार्की र कुमार चुडाल, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, अनिलकुमार सिन्हा र कुमार रेग्मी तथा प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठका लागि संयुक्त इजलास तोकिएको छ ।

